Prof. Dinesh P. Chapagain
Dinesh Chapagain
My Diary

 ऋषिकेश, भारत

February 25, 2009,

तदनुसार २०६५ फाल्गुण १४ गते


धेरै प्रकारका अन्तर्ज्ञान प्राप्त ज्ञानी व्यक्तिहरूका बारेमा सुनेको थिएँ। कतिसँग त प्रत्यक्ष भेट पनि पाएको थिएँ। कत्तिका प्रवचन सुनेको थिएँ, सत्सङ्ग अलि अलि गरेको थिएँ, कतिलाई दर्शन पनि गरेको थिएँ, कतिले लेखेका किताब पढ्ने मौका पनि पाएको थिएँ। केटाकेटी देखि घरमा आइरहनु हुने बनारस हजुरबुबाको १२५ वर्ष नाघिसक्नु भएको एक जना कम्मली ब्रम्हचारी बाबालाई त राम्रै सँग सङ्गत गर्ने मौका पाएको थिएँ। पहिला केटाकेटीमा वहाँको चर्तिकला देखेर अचम्म लाग्थ्यो तर पछि पछी नसोच्दा नसोच्दै श्रद्धा जाग्न थाल्यो। वहाँ अहिले ब्रम्हलीन भइसक्नु भएको पनि धेरै वर्ष भइसक्यो।


आज रातीको खाना खान वानप्रस्थको क्यान्टिन गएको थिएँ। एक महिना देखी वानप्रस्थमा करिब ३० जना जति चाइनिज केटीहरूको योग प्रशिक्षण चलिरहेको रहेछ। आजकाल त्यसैले क्यान्टिनमा पनि भिडभाड च्याङ्ग च्याङ्ग र चुङ्ग चुङ्ग धेरै हुने गरेको छ। सेता सेता लुगा लगाएका कलिला उमेरका केटीहरू शान्त भएर बस्न नसक्ने खोरबाट छुटेका भेडा बाख्रा जस्तो एकैसाथ आएर खाँदा खेरी त च्याँ च्याँ र म्याँ म्याँ को गुन्जन मात्र सुनिने। त्यसैले, म पनि खाना खान अलि ढिला गरेर गएको थिएँ, तिनीहरूको समयलाई छल्नको लागि। मैले खाना खाइसकेर पण्डितजी लाई पैसा दिँदै थिएँ, पण्डितजीले मलाइ पछाडि इसारा गरेर "ऋषिजी" भनेर देखाए। पछाडि फर्केर हेरेँ। करिब ३५-४० वर्षका हुँदा हुन् जिउ गठिला पेट पनि अलि निक्लिएको, काला चिप्ला अनि लामो घुँघराले कपाल, दाह्री पालेपनि नक्कली मेकअप गरेको जस्तो सिनित्त पारेर कोरेका, हँसिला ऋषि रहेछन्। मैले साँच्चै भन्ने हो भने नमस्कार गर्न पनि भ्याइन। उनले नै कुरा छोडे, “कहाँ बाट आउनु भएकोमैले भने "नेपालबाट"। फेरि अर्को गोलि पड्काए "के गर्दै हुनुहुन्छ"। म उभिएको उभिएकै छु। हाँसो उठ्यो, “यहीँ खाना खाँदै छु"। उनले कुरा बुझे क्यार, टाउको हल्लाए। मैले पनि हाँसेर जान्छु भनेर मेरा पछाडि उभिएका उन लाइ पन्छाएर क्यान्टिनबाट कोठा तिर सुत्न भनेर लागेँ। एउटा अनुभव त हो नि, होइन र!


बाटो भरी मेरा बाल्यकालमा भेटेका ती "ब्रम्हचारी बाबा" र यी चाइनिज केटीहरूलाई योग सिकाउने गुरू "ऋषि" का बारेमा सोच्दै हिँडेँ। अनि सम्झेँ, साँझ पख भेटेका ९४ वर्षे योगी। फेरी सम्झेँ हिजो वशिष्ठ गुफामा भेटेका स्वामीजी अनि त्यस ठाउँमा भेटिएका नाम नै नभएका बाबा। उल्टो चलाएको चित्रपट झैँ रील मजासित चल्न थाल्यो।


ऋषिजी भेटेको करिब दुई घण्टा अगाडि आज परमार्थ निकेतनको आरती सिद्धिएर जय जय रमण पनि सिद्धिसकेपछि सबै भिड सँगै बाहिर निस्कँदै थिएँ। परमार्थ निकेतनमा नै बस्ने तथाकथित ९४ बर्षे ती पट्ठा जस्ता देखिने योगीजीले केही पाम्पलेट बाँड्दै थिए। योग सम्बन्धी कुनै पर्चा जस्तो लाग्यो। मैले पनि कौतुहलताबस् पढ्न र बुझ्नको लागि मागेँ। उनले दिएनन्। फेरि उभिएर हेरी रहेँ, कसलाई दिन्छन् त उनले। कसलाई बाँड्छन् त भन्दा बिदेशीहरूलाई मात्र पछ्याई पछ्याई आफै बाँडिरहेका थिए। करिब ५०।६० को पर्चाको मुठो होला, आफै बाँडी बाँडी हिँडिरहेका थिए। एक छिन उभिएँ, कौतुहल अलिकति भए पनि जाग्यो आखिर मा प्रख्यात परमार्थका प्रख्यात योगीजी हुन् नि त यी। जुत्ता राख्ने ठाउँका स्वयंसेवी दाह्रीवाललाई सोधेँ " के बाँडी रहेका ती योगीजिले हँ? छक्क परेँ, योगको कोर्ष परमार्थमा उनले लिने रहेछन्। किन बिदेशीलाई मात्र र आफै किन नि ? जबाफ मलाइ चाहिएको थिएन र चाहिँदैन पनि। एउटा कुरोको अनुभव त हो नि, हैन र?


हिजो ऋषिकेशकै एक साथीले वशिष्ठ गुफा जाउँ त्यहाँ भन्डारा लगाएको छ भनेर मलाई बोलाएर, अनि उनको कारमा लिएरपनि गएका थिए। ऋषिकेशबाट झन्डै ३०।३२ किलोमिटर माथि श्री बद्रीनाथ जाने बाटोमा रहेछ, बाटोको दाहिने पट्टी ओर्लेर गङ्गाको किनारमा। लामो गजबको गुफा, बाहिरपट्टि ५।६ कोठाको आश्रम अनि भव्य एक शिवजीको मन्दिर पनि रहेछ। त्यस्तो अनकन्टार ठाउँमा कसरी ऋषिमुनिहरूले तपस्या गरे होलान्। अहिले पनि सम्झँदा नै आङ सिरिङ्ङ भएर आउँछ। दर्शन भयो स्वामीजीको, क्या हँसिलो मुहार, सधैं मुसुमुसु। उमेर त भन्नै नसकिने। जे भए पनि ६० त नाघेकै छ। सोध्न भएन। त्यो अनकन्टारमा ४।५ जना मान्छे, दुध दिन छोडेका १०।१२ वटा बुढी गाईहरू अनि ८।१० वटा जति कुकुरहरूका साथमा स्वामीजी बस्नु हुँदो रहेछ। हाँसिरहने धेरै नबोल्ने। भण्डारामा नजिकका गाउँबाट २०० जति मानिसहरू जम्मा भएका थिए होलान्।। एउटा स्कुल वहाँको नेतृत्वमा बनेको रहेछ, त्यहाँका केटा केटी पनि करिब ३० जना जति भोजन गर्दै थिए। सबैले स्वामीजीको खुट्टामा नै छोएर ढोग गरे। मैले पनि गरेँ। हाँसेर कहाँ बाट आउनु भएको भनेर सोध्नु भयो। नेपाल बाट भनेँ। अछ्छा, खाना खाएर जानुहोस् भनेर भन्नु भयो र फरक्क फर्केर जानु भयो। हुन्छ भनेँ। वहाँ अरूलाई खाना खुवाउन पटी लाग्नु भयो। बस् त्यति हो कुरो भएको भनेको। म पनि खान बसेँ, लाइनमा। भोजन भण्डारा बाराबंकीको एउटी माँजीले लगाउनु भएको रहेछ। वहाँको छोरा बुहारी पनि त्यहाँ आउनु भएको थियो। त्यो अनकन्टार ठाउँमा स्वामीजीको कत्रो त्याग, अनि चेला चेलीको कत्रो सहयोग, एउटा साँच्चै को अनुभव भयो।


हामी सबै खाना खान लाइनमा बस्यौँ। खाना बाँड्ने एक जनाले चिच्याएर नै भन्यो " बाबाजी, त्यहाँ एउटा लपेस हालि दिनुहोस् त, अनि पुरी पनि"। देखेँ, एउटा ४ फिट पनि ननाघेका भाङ्žग्रोको लुगा भन्न पनि न सुहाउने एउटा कप्तान भन्ने जस्तो बनाएर कपडाले जिउ छोपेका उही ६०।७० वर्षका होलान् बाबाजीले हाँसी हाँसी फुर्तीसाथ एक भारी लपेस लेराएर सबैलाई एउटा एउटा लगाइ दिए। अनि दौडेर तुरुन्तै एउटा ठूलो डेक्चीमा राखेको पुरी लेराएर २।२ वटा गरेर सबैलाई हाल्दै गए। तिनको फुर्ती देखेर मलाई कौतुहल भयो त्यो अनकन्टारमा बाबाजीको बारेमा बुझ्न को लागि मन रसायो। खाना खाइसकेपछी आफ्नो लपेस ठाउँमा फ्याँकेर बाबाजीलाई खोज्न हिँडे। उनी त एउटा ठूलो पकाउने तपेस मस्काइरहेका रहेछन्। एस पाली चाहिँ मैले नै सोधेँ, “बाबाजी कहाँ बस्नु हुन्छउनी त हाँसी पो रहे केही जबाफ दिएनन्, कुरो बुझेनन् कि जस्तो छ। फेरि सोध्ने आँट आएन। उनको हाँसोलाई हाँसोले नै फर्काएर म मन्दिर छेउ बस्न गएँ। भण्डारा गराउने बाराबंकीकी माताजीको छोरो डाक्टर साहेब मेरो छेउमा आएर खाना कस्तो भयो भनेर भलाकुसारी गर्न आउनु भयो। अनि बाबाजीको बारेमा भन्न थाल्नु भयो। मैले केही सोधेको थिइन। सायद मैले बाबाजी सङ्ग कुरो गर्न खोजेको देख्नु भएछ क्यार। डाक्टर साहेबले भन्नु भयो। यी बाबा कहाँ का हुन् कसैलाई पनि थाहा छैन अरे। केही दिन देखि यहीँ वशिष्ठ गुफामा आएर बस्नु भएको छ रे। बिहान ३ बजे उठे देखी काम गरेको गरेकै छन् रे। गुफा देखी गङ्गा नदी सम्म को ५०० मिटरको बाटो एक्लैले तीन दिन देखी ढुङ्गा पन्छाएर बनाएका रे। कसै सङ्ग बोल्दैनन्, खालि हाँसि रहन्छन् रे। अहिले गङ्गोत्री बाट ३ सय किलोमिटर भन्दा बढि हिँड्दै आएका रे। कहाँ बस्छन्, के कहाँ खान्छन् कसैलाई केही पत्तो छैन रे। लौ, यो पनि एउटा अनुभव नै भयो मलाइ।


हिजो र आज यसरी, स्वामीजीको खुट्टामा दर्शन भयो, योगीजीले बाँडेका पर्चा पढ्न पाइएन तर थाहा भयो, ऋषिजी सङ्ग अचानक जम्का भेट भयो, बाबाजीको अचम्मका चर्तिकला देखेँ। मलाई थाहा थिएन, सुनेको मात्रै थिएँ - स्वामीजी, योगीजी, ऋषीजी, बाबाजी, मुनीजी अनेक थरीका हुन्छन् भनेर। दुई दिनमा केही अनुभव भयो, अनि पुरानो बाल्यकाल अबस्थामा भेटेका हजुरबुबाको साथी ब्रम्हचारी बाबाको संझना आयो, अझ बढि अनुभव भयो।



ऋषिकेश, भारत

February 24, 2009,

तदनुसार २०६५ फाल्गुण १३ गते


साक्षी भाव राखि हेरि मात्र रहने बानी थिएन, यस्तो कुराको अनुभव भन्ने त झन् भएको नै थिएन। आफै प्याच्च बोल्ने र सबै कुरोलाई ओल्टाइ पल्टाइ विश्लेषण गरिहाल्ने बानीले अर्काको कुरो बुझ्न गाह्रो हुन्छ भनेर सुनेको त थिएँ। पहिला पहिला पढेको थिएँ - पहिला सुन्ने गर अनि मात्र बोल। तर, आज अचम्म नै भयो। अनुभव भयो - -बोल्ने, -सुन्ने, अनि न-सोच्ने, शून्यतामा मस्त हुने - मज्जा त त्यसमा पो रहेछ।


ऋषिकेशमा गत दश वर्ष देखि निरन्तर बस्दै आएका एक पुरानो साथीलाई भेट्न गएको थिएँ। लक्ष्मण झुलामा। भेट्ने समय भन्दा अगाडि नै पुगे छु। २ घण्टा अगाडि, के भयो र समय सङ्ग नबाँधिएपछि, होइन र? बिहानको ११ बजे भेटेर दिउँसोको खानाको प्रोग्राम राखेको त, बिहानको नास्ता गर्ने समयमा पो पुगे छु। लक्ष्मण झुलाको सिरानीमा माथि उक्ले पछि एउटा जर्मन बेकरी क्याफे छ, त्यहीँ नास्ता गर्ने मुड बनाएर भर्žयाङ उक्लिएँ। एउटा चिज स्यान्डवीच र एस्प्रेसो कफी अर्डर दिएर एउटा मेच तानी बसेँ।


जहाँ म बसेको थिएँ, त्यहीँ मुन्तिर बिहानी को कलिलो घामले स्पर्श गरिरहेको गङ्गाको तरङ्ग एउटा भुल्नै नसकिने कलकलाउँदो जोवन चलमलाइरहेको जस्तो देखिन्थ्यो। त्यहाँ चलन रहेछ, अर्डर दिए पछि झन्डै एक घण्टा कुर्नु पर्ने रे, अचम्म! सायद पर्यटकहरूलाई गङ्गाको जोवन देखाउन को लागि नै त होला।


मेरो बानी केटाकेटी देखि लागेको - कलेजमा पढ्दाको समय, भर्खर मात्र १५ - १६ वर्षको जवानी लागेको समयमा साँझ पख, तर कहिले कहीँ त दिउँसो पनि कलेज नभएको बेला झोछें बसन्त पूर जाने अनि भर्खर मात्र आएको हिप्पीको संस्कृति सँग रमाइलो मनाउने गर्थेँ। साठीको दशकको सुरु सुरु को बेला हो। एउटा लेमन टि को गिलास लिने अनि थरी थरीका देश बाट आएका हिप्पीहरूका गफ सुन्ने, कहिले कहीँ उनीहरूका गफमा पनि सहभागी भई दिने। रमाइलो लाग्थ्यो विदेशका मान्छे सङ्ग कुरा गर्दा, उनीहरूका भावना बुझ्दा। उनीहरू कुइरे नै भए तापनि अलग अलग भाषामा बोलेका अनुभव गर्दा अचम्म लाग्थ्यो। अहिले पनि त्यो अल्लारे उमेरमा भएको रोमाञ्च सम्झँदा रमाइलो नै लागेर आउँछ।


हो! लक्ष्मण झुलाको बेकरी क्याफेमा ४५ वर्षको अन्तराल पछि त्यही देखेँ। करिब बीस पच्चीसजना जति ग्राहक होलान्। म समेत सबै जना विदेशी, अचम्मको सङ्गम थियो। ७५।८० वर्षका बुढा बुढी देखी २०।२२ वर्षका तरुना तरुनीहरू। म बसेको टेबुलमा एउटा ६०।६५ वर्षको बुढो एक्लै डायरीमा केही घोत्लिएर लेखिरहेको थियो, कुन भाषामा हो केही थाहा भएन, अङ्ग्रेजी, उर्दु, चाईनीज चाहिँ पक्कै थिएन। सङ्गैको टेबुलमा झुस झुसे दाह्रि भएका गधा पच्चीसका दुई जना केटाहरू एक जना बेलायती अङ्ग्रेजी र अर्को अमेरिकन अङ्ग्रेजीमा मस्त सङ्ग कुरा गरि रहेका थिए। अनि, त्यही टेबुलमा एउटा जर्मनी जोडी चाहिँ दहीमा मुसुली हालेर खाँदै थिए। उनीहरू भने पटक्क बोलेका थिएनन् खानमा नै मस्त थिए। परको एउटा टेबुलमा यस्तै तीस पैँतीसकी होली पातली केटी चिया खाँदै आफ्नो ४।५ वर्षे छोरा त होला नि उसलाई पडाइरहेकी थिई। फ्रेन्च किताब कापी लिएर फुच्चे केटो केही लेखि रहेको थियो। एउटी ८० नाघे जस्ती बुढी निकै फेसन र मेकअप गरेर न्यानु घाम ताप्दै "The White Tiger” किताब पढेर रमाइरहेकी थिई। अरू को को थिए थिए विश्व भरका मानिस, उनीहरूका भाषा, लगाई, खुवाई आदि हरू सबैको सङ्गम झै अनुभव भइरहेको थियो। यसको सामु त्यो झोछेंमा देखिएका छिँडीको त्यो हिप्पी रेष्टुरेण्ट त केही पनि थिएन। तर, पाँच मिनेटको त्यो सरसर्ती हेराई पछि मैले को को कहाँ कहाँका र के के गरिरहेका छन् भन्ने अनुगमन, विश्लेषण आदि गर्न चटक्क छाडे छु। त्यो कलकलाउँदो जोवन चढेको गङ्गा पट्टी हेर्न थाले, सबै आफू वरि परी का वास्तविकतालाई ठ्याम्मै भुलिदिएँ, म त हराए छु, झन्डै एक घन्टा भन्दा पनि बढी।


हजारौं वर्ष देखी नभएर, लाखौं करोडौं वर्ष देखि गङ्गा अविरल बगिरहेकी छिन्। ऋतु तथा समय अनुसार आफ्नो रूप बदलिँदी हुन् तर बगि रहेकी छिन् बगि रहेकी छिन् उत्तर बाट दक्षिण तिर बगि रहेकी छिन्। अमेरिकनले पिजा खाओस् या फ्रेन्चले चिया खाएर केटाकेटी पढाओस्, या जर्मनले मुसुली खाओस्, कोही किताब लेखोस् या कोही किताब पढोस्, गङ्गालाई केही फरक परिरहेको छैन। कसैले बाँधिदेओस्, कसैले पूजा गरोस्, त कसैले डुबुल्की लगाओस्, कसैले मुर्दा नै किन फ्याँकी न देओस्, तर गङ्गा त बगिरहेकी छिन् बगिरहेकी छिन् आफ्नो गन्तव्य तिर समुन्द्र सङ्ग मिलनको लागि। यदि बोल्न मन लागेको भए बोल्थिन् होली कसै सङ्ग अङ्ग्रेजीमा त कसै सङ्ग फ्रेन्चमा या कसै सङ्ग जर्मनीमा। तर, अहँ पटक्क नै मतलव छैन। आफ्नै मस्तीमा अविरल आफ्नै धुनमा बगिरहेकी छिन बगिरहेकी छिन। उल्टो आफ्नो सौन्दर्य सबै पर्यटकलाई देखाएर लोभ्याएर अनि रोमाञ्चित पारेर मस्त सङ्ग आफू चाहिँ बगिरहेकी छिन् बगिरहेकी छिन्।होइन त? यो साक्षी भाव राखेर, अरू कसैको चियो चर्चा नगरी आफ्नै धुनमा लागिरहेकी गङ्गा कति संयम कति मोहक।


आज मैले अनुभव गरेँ। मैले पाँच मिनेट पछि संसार देख्न छोडेँ, को को कुन कुन टेबुलमा थिए, के के गर्दै थिए, कुन देशका के के भाषा बोल्दै थिए। म त मस्त भएँ आफ्नै धुनमा, गङ्गाको जोवन हेरेर। समय बितेको त थाहा नै भएन। स्यान्डवीच आएर खाई पनि सकेछु, कफी पनि सेलाएर पिई सकेछु। म आफैँमा मस्त, म एक्लै के धुनमा हो कुन्नि म त साक्षी भावले बसि दिएको, रमाई दिएको पो रहेछु। दुई घन्टा बिती सकेछ। थाहा नै भएन।



 

ऋषिकेश, भारत

February 23, 2009,

तदनुसार २०६५ फाल्गुण १२ गते


अनुभव अचम्मको हुँदो रहेछ। इच्छा एउटा पुगेपछि अरू माग गर्ने, अनि इच्छा नपुगेपछि भने सित्तैँ मा विचलित भई बस्ने यो एउटा मानव स्वभाव नै रहेछ। यो अनुभव भयो आज मलाई। हामी दुई बुढा बुढी ऋषिकेश आउने जाने गरेको आठ नौ वर्ष नै भयो। करिब पुग न पुग एक महिना जति बस्ने गर्थ्यौँ। यस पाली म एक्लै आउनु पर्यो, ऊनलाई घरको हेरचाह गर्नु परेर (माउसुलीले छत थामे झैँ) उनी आउन पाइनन्। यहाँ जुनसुकै आश्रममा पनि एउटा नियम के छ भने एक्लै भएमा आइमाई होस या पुरुष कसैलाई पनि बस्न दिइँदैन। डर थियो, बास नपाइने हो कि भनेर, अन्य कतै होटलमा पो बस्नु पर्ने हो कि भनेर। तर, आश्रम भित्र पस्ने बित्तिकै "जय श्रीराम" भनेको त काउण्टरमा चिनेका साथी रहेछन् अनि एक्लै आएको थाहा पाएर फारममा श्रीमतीको पनि नाम भरि दिनुहोस् भइहाल्छ नि भनेर मलाई एउटा कोठा मिलाइदिए। कस्तो दया गरिदिएका त! खुशी भएँ। उनको नाम र मेरो नाम मिल्दो जुल्दो छ, पुरानो चिनेका साथी नै हुन्। धन्यवाद भनेँ, अनि १०५ नम्बर कोठातिर लागेँ।कोठा तिर हिँडेको मात्र के थिएँ, उनले कराए, “ कोठामा गिजर बिग्रेर बनाउन लगेको छ, भोलि अर्को कोठा खालि भएपछि तपाईँलाई सारी दिँउला है"। मैले केही छैन थाकेर आएको कोठा पाएँ, फेरि एकचोटी धन्यवाद भनेर कोठा तिर लागेँ। थाकेर शरीरले आराम खोजिसकेको थियो।


रातको झन्डै १० बजिसकेको थियो, थाकेको बुढो शरीर कोठा दोस्रो तल्ला मा रहेछ, बल्ल बल्ल आफ्नो जिउलाई आफैले तानेर कोठामा पुराएँ। कोठा पूर्व पच्छिम दुवै तिर ढोका भएको, दुवै पट्टी बरन्डा भएको रहेछ। अहा! पच्छिमको बरन्डा खोलेर हेर्दा मेरा सबै थकाइ मरे। शीतल हावा बगिरहेको, आकाशमा निर्मल चाँदनी रातका छिरबिरे तारा हरू चम्किरहेका, अनि गङ्गा तरङ्गीत भएर सरररर बगिरहेकी। के र! मन थाम्नै नसकेर त्यहीँ राखेको मेचमा थचक्कै बसेँ। के बुढो शरीर के दुई दिनको सफरको थकाई सबै एकाएक गायब भए। गङ्गाको शक्तिको तरङ्ग आफ्नै शरीरमा पसे जस्तो भयो। त्यो चम्किलो आकाश, त्यो कलकल ध्वनि गङ्गाको सङ्गीत अनि सिरिरी चिसो बतास, म आफू एक्लै भएको अनुभव नै भएन। म त सबै विश्व ब्रह्माण्ड सबै ईश्वरको सृष्žटि सँग रमाइरहेको थिएँ। म कहाँ एक्लै? यस्तो परमानन्द मेरो भौतिक कल्पना भन्दा बाहिरको कुरो थियो। आधा रातसम्म त्यो आनन्द र परम सुखको अनुभवमा नै रमाई रहेँ। मलाई निद्रा थिएन र म होसमा पनि थिइन। यो अजिब को विरोधाभास स्थितिमा परेछु म त।


आज बिहान फेरि त्यही आश्रमको कोठा दिलाइ दिने आफ्नै नाम गरेको साथीलाई भेटेँ। फेरि धन्यवाद दिएँ - कस्तो राम्रो कोठा भनेर। अनि आधा घण्टा उसलाई हिजो रातीको म आफूले परमानन्द प्राप्त गरेको अनुभूतिको बयान पनि गरेँ।


तर, इच्छा कहाँ मर्दो रहेछ र! उही साथीले नै जगाइ दियो। उसले मलाई सोध्यो "गिजर भएको कोठामा सर्नेमैले हुन्छ नि तर त्यति जरुरी छैन भनेर टाउको हल्लाइदिएँ। दिउँसो फेरि उसलाई भेट भयो। उसले म्यानेजर सँग सोधेछ। अरू कोठा खाली छैन अब सार्न सकिँदैन भनेर म्यानेजरले भन्यो भनेर सुनायो। ए! कोठा खाली हुँदा हुँदै पनि नदिने भनेर त्यो साथी पो बम्किन थाल्यो। मेरो इच्छा त्यत्ति सारो जागेको थिएन। कोठामा गिजर नभएर पनि मलाइ खास फरक परेको थिएन। तर, ती साथीलाई म्यानेजरले किन झुटो बोले भन्ने चिन्ताले सतायो। उनि बडबडाउन थाले। मलाई चाहिँ खास्सै असर परेन। मैले जे पाएँ त्यसैमा सन्तुष्ट थिएँ। ज्यादै सन्तुष्ट थिएँ। के को चिन्ता! तर मेरो लागि उसलाई चिन्ता सुरु भएको थियो।


इच्छा कसैले जगाइ दिँदै मा आफूमा त्यो सल्कन दिन हुँदैन भन्ने अनुभव गरेँ। इच्छा सबैका हुन्छन् तर जे आफूले प्राप्त गरेको छ त्यसबाट जति सक्दो आनन्द लिन सक्नु पर्दो रहेछ। इच्छा माथि इच्छा थपेर चिन्तित हुनु त हुँदै भएन। जे छ त्यसमा आनन्द लिँदा म आनन्दित छु। यो सुनेको थिएँ - अनुभव पनि गरेँ आज।



ऋषिकेश, भारत

February 22, 2009,

तदनुसार २०६५ फाल्गुण ११ गते


केही सुनेको थिएँ, केही पढेको पनि थिएँ - हामी एक निमित्त मात्र का हौँ गर्ने अरू कोही छन् जो हाम्रा प्रयासलाई सके सम्म सफल पार्न को लागि सदा हाम्रा साथमा हुन्छन्। साँच्चै भन्ने हो भने चालकका सिटमा बसेर हाम्रा इच्छा अनुसार को ठाउँमा पुराइदिन को लागि उनि सदैव लागि रहेका हुन्छन्। कसैले उनलाई भगवान भन्छन् त कसैले उनलाई इशु क्रिस्ट अथवा अल्लाह भन्दा रहेछन्। जे होस, मैले अस्ति र हिजो को सफरमा यस कुराको अनुभव गर्ने पुरा मौका पाएँ।


अस्ति फेब्रुअरी २० तारिखको दिन बिहान १० बजेर १० मिनेटमा बुद्ध एरको जहाज चढी काठमाडौं बाट भैरहवा उडेँ। एर होस्टेजले कुन्नि किन हो माया गरेर पहिलो सिटमा नै बस्नु भनिन्, मैले खोजेको चाहिँ होइन तर मलाई त्यो सिट औधी मन पर्छ। जहाजले भुईँ छोड्दा यसो पाइलट तिर आँखा लाग्दा त मन खर्ल्याक खुर्लुक्क भयो। जहाजमा मलाई थाहा छैन के भन्छन्- मोटर कारको गिएर ह्यान्डल जस्तो लाठो लाई समातेका हात त सानो हाते घडीले सिँगारिएका एउटा सुकुमारी हात पो देख्छु। झसङ्ग भएँ, आङ नै सिरिङ्ङ गर्यो। जहाजले जमिन छोडेको त पत्ता नै पाइँन।त्यत्रो अजङ को जहाज बीस जना मानव जीवनलाई बोकेर हावामा उडिरहेको थियो, एउटा कोमल नारीको नियन्त्रणमा। पत्ता पाउँदा नपाउँदै केही मिनेटमा नै जहाज त भैरहवा धावन मार्गमा सुइँइए कसैको मनलाई वास्ता नै नगरी ओर्लियो। मैले केही सोच्न मात्र भ्याएको थिएँ - मेरो त इच्छा मात्र त हो नि भैरहवा पुग्ने। पुराई दिने चालक त अन्य कोही व्यक्ति थिइन् जसलाई म चिन्दैन पनि थिएँ। मैले विश्वास गरे नगरे जसो गरे पनि इच्छा मात्र गर्दा पुराई छोडिन् ती नारी दिमाग, हात अनि कुशलताले। धन्य हो! म निमित्त मात्र को - उनी चालक।


भैरहवा बाट गोरखपुर जानु थियो रातको रेल समात्न को लागि। खाना खाने ठाउँमा एक व्यक्तिले सल्लाह दिए, “सुमोमा जानु भन्दा बसमा गए हुन्छ राम्रो सिट पाइन्छ आधा घन्टा मात्र त ढिला हुने हो नि। समय छ भने बसमा नै जानु होस्"। मेरो मन त्यतै तिर डोरियो। भारत तर्फ सुनौली आइ दिउँसोको १ बजेको बस चढेँ। फेरि, के हो कुन्नि मलाई सुमोको भन्दा आधा पैसा लिएर कन्डक्टरले ढोकै छेउको पहिलो सिटमा बस्ने आग्रह गर्यो। मैले धन्यवाद दिइ म सिटमा बसेँ। अनि मनमनमै सम्झेँ - डोर्याउने त उ नै हो नि-मेरो त इच्छा मात्र थियो। बस आफ्नो समय लिएर हिँड्यो। बस बिस्तारै आफ्नै चालमा कहिले हिँड्ने, कहिले रोक्ने। अनि सम्झना आइरहेको थियो पहिला पहिला को सफर। प्रत्येक रोकाई मा झोक चल्थ्यो, प्रत्येक गुडाइ मा रमाइन्थ्यो। तर, यस पटक लाग्यो त्यो २५।३० वर्षे पट्ठो ड्राइभरको हातमा स्टियरिङ् छ, एक्सिलियटर छ, मेरो हातमा चाहिँ केही पनि छैन। के आफू रिसाएर उसलाई केही फरक पर्ला त! डेढ घन्टा गुडे पछि बस रोकियो। यसो अगाडि हेर्छु त गाडीको लामो लाइन। कन्डक्टरलाई कसैले सोधे के को लाइन हो यो? थाहा पाएँ कि भारतमा चुनाव नजिकिँदै रहेछ, समाज वादीको कुनै नेता आउँदै छन् रे। आखिर राजनीति गर्ने ठाउँ सडक नै त हो नि- कसैले तुरुन्तै टिप्पणी गरे। त्यसपछि अर्को टिप्पणी अनि अर्को माथि अर्को टिप्पणी। फेरी कसैले चिन्ता गर्न थाले कसैले रिस गर्न थाले। को सङ्ग रिस गर्ने थाहा छैन तर सबैले आफूमाथि नै रिस गर्दै छन् जस्तो लाग्यो। करिब डेढ घन्टा त्यति कै बस भित्र बाहिर गरेर सबैले चित्त बुझाए। गर्न सक्ने कसले के थियो र! आफ्नो समर्थ भन्दा बाहिरको कुरामा। ड्राइभरले स्तियरिङ्ग समाते सबै खुस भए। हाम्रो बस चल्यो। मलाई ड्राइभरले तीन घण्टाको बाटो गोरखपुर झन्डै पाँच घण्टामा पुराइदियो। धन्य हो ड्राइभर! म त इच्छा मात्र त गर्न सक्ने थिएँ नि, अरू के नै गर्न सक्थेँ र! म निमित्त मात्र को - उनी चालक।


तेस्रो सफर गोरखपुर बाट रातीको ९ बजे राप्ती सागर एक्सप्रेस रेल चढेँ हरिद्वार जानको लागि। ए्.सि. कोच सुबिस्ता साथ भोलि पल्ट १ बजे दिउँसो तिर पुराउने त हो नि, मजासित ओछयान लगाएर सुत्ने तरखर गर्न थालेँ। अज कल गजब छ नि जब देखि ए.सि. कोच रेलमा सुरू भयो गुन्टा बोक्ने झन्झट नै सकियो। होटलको जस्तो सेतो तन्ना, रग अनि ओढ्न को लागि हुने सेतै तन्ना, तकिया सबै एटेन्डेन्टले सिटमा बस्न साथ नै लेराएर दियो। ओछयान कसेँ, अनि एउटा तौलिया पनि मागेँ तव लम्पसार परेर सुतेँ। झुलामा झुलाएको जस्तो, दिन भरि को थकाइ। अहा क्या मीठो निद्रा लाग्यो, एकै चोटि बिहान सूर्योदय सङ् सङगै आँखा खुल्यो। बरेली आइपुग्न लागेको रहेछ, पत्ता लाग्यो ठीक समयमा नै रेल गुडिरहेको रहेछ। १ बजे तिर हरिद्वार पुग्ने भइयो, खूब रमाएँ। सोचेँ मेरो इच्छा त हो नि, के चाँडो के अबेर मैले गर्न नै के सक्थेँ र! के पुर्याइदिने र न पुर्याइदिने मैले भनेर मात्रै हुन्छ र! काठमाडौँ - भेरहवा छोटो हवाई सफर, अनि सुनौलि - गोरखपुर को बस सफर के मैले पार गरेको हुँ र? मेरो के हात छ ! उही नारी पाइलट र त्यही तन्नेरी ड्राइभरले यहाँ सम्म पुराइ दिएका त हुन् नि। अब रेल चालकको हातमा छ मलाई १ बजे सम्म मा हरिद्वार सुविधा साथ पुराइदिने। म सोच्दै थिएँ, बरेली आइपुगेछ।


आधा घण्टा बरेलीमा बिसाएर हिँडेको रेल अब मेरो तन्द्रा टुटाउने गरेर गुड्न थाल्यो। प्रत्येक आधा घण्टा हिँडे पछि त्यो रेल एक घण्टा विश्राम गर्न थाल्यो। रेल चालकको मर्जी। किन यसो गरेको होला? सबै जना पहिलो रोकाई मा केही भयो होला भन्न थाले अनि त्यस पछि त दोस्रो, तेस्रो, चौथो अनि त कति कति सबै गनगन गर्न थाले, रिसाउन पनि थाले। गनगन सुरु भयो - खोइ लालु यादवले रेल सुधार गरेको भनेको पनि त उस्तै रहेछ। आपसमा कुरा गर्नु बाहेक अरू के नै गर्न सक्थे र? के गरून् आफ्नो हातमा छ र! एक छिन पछि, गन गन गरेर थाके अनि आ-आफ्ना व्यवस्था गर्न पट्टी लागे। कसैका बच्चाको छुट्टी भएर उनीहरूलाई भेट्न देहरादून पुग्नु थियो भने मेरो सङ्ग बस्ने को चाहिँ ऋषिकेशको होटलमा अर्को साथीलाई पालो दिन पुग्नु थियो। बिचरा उसको साथीको हजुरबुबा स्वर्गीय भएकोले त्यो साथीलाई तुरुन्तै उसको घर दिल्ली जानु थियो रे। कसैको परीक्षा फारम भर्ने अन्तिम मिति थियो रे। सबै अत्तालिरहेका थिए, अनि सबैका मनमा चिन्ता हुनु, आत्तिनु, रिसाउनु स्वाभाविक नै थियो। मेरो मात्र केही थिएन, पुग्ने इच्छा मात्र थियो। सबै रिसाउँदै मोबाइल बजाउँदै आ-आफ्ना मानिस बोलाउँदै बाटो बाटोमा उत्रिने चाहना राख्दै थिए। कति सफल पनि भए। म चाहिँ रमिता हेर्दै थिएँ। हे ईश्वर किन यस्तो गरिदिएका होलाउ। हजारौं लाई रेलमा चढाएर विभिन्न इच्छा बोकाउन लगाएर अनि आफू चाहिँ निदाइदिने। हुने हुनामी कसले टार्न सक्दो रहेछ र! बरेलि देखि मुरादाबाद सम्म को बाटोमा रेल लाइ करिब दुइ दर्जन चोटि रोकि रोकि आखिर १ बजे दिउँसो को सट्टा राती ८ बजे हरिद्वार स्टेसनमा त्यो जुङ्गेमुठे रेल चालकले रेल पुराइ छोड्यो। त्यत्तिका मान्छेले इच्छा गरे पनि नगरे पनि रेल हरिद्वार आइपुग्यो नै, समयमात्र अलि बढि लागेको त हो नि। म शान्त थिएँ। म निमित्त मात्र त थिएँ नि, आखिर मेरा हातमा केही पनि त थिएन नी। बिचरा रेल चालकको हातमा पनि त एउटा देखिने स्टेरिङ्ग त थियो नि। बरेली देखि मुरदाबाद सम्म को बीचमा रेल्वे लाइनमा मर्मतको काम भइरहेको थियो। हरियो बत्ति न बलुञ्जेल रेल चालकले पनि के गरोस्! त्यसैले मैले पुरा थाहा पाएँ, अनुभव गरेँ - म इच्छा गर्ने निमित्त मात्र को हुँ, उनि पो असली चालक।


 

Copyright ©, Prof. Dinesh Chapagain